Deprecated: Optional parameter $query_type declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $order declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $custom_content declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $paragraph_number declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $depth declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $args declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $sub_title declared before required parameter $the_post is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 100
सार्वजनिक शिक्षा र राष्ट्रिय विकासको प्रसंग – समग्र नेपाल

सार्वजनिक शिक्षा र राष्ट्रिय विकासको प्रसंग

आलेख

जीतबहादुर शाह
छोरीको व्याचलर अध्ययन गर्ने कलेज खोज्ने क्रममा एकजना मित्रको परामर्श लिन पुगें म । मित्रले परामर्श दिने क्रममा एउटा कलेजको नाम लिए । मैले छोरीलाई मित्रले सल्लाह दिएको कलेजको नामै भनेर थप कुरा बुझ्न अनुरोध गरें । छोरीले बुझिछन् । राम्रैसँग बुझिछन् । बुझेपछि मलाई प्रतिक्रिया दिइन्– ‘त्यो कलेजमा त अमेरिकाको कोर्स पढाइ हुँदोरहेछ । कोर्सभरि सवै अमेरिकाकै कन्टेण्ट छ । मलाई किन चाहियो त्यो कलेज ? मलाई किन अध्ययन गर्नुपरयो अमेरिकाको बारेमा ? म अमेरिका जाने होइन । मलाई त नेपालकै बारेमा पढ्न पाइने र भोलि नेपालमै बसेर केही गर्न सकिने कुरा सिकाउने कलेज चाहियो ।’ छोरीको कुरा सुनेर म नजवाफ भएँ । छोरीको नेपालकै बारेमा अध्ययन गरेर नेपालमै बसी काम गर्ने छोरीभित्र रहेको राष्ट्रिय भावनालाई सह्रदय सम्मान गरें । छोरीको कुरा सुनेर छोरीलाई भने पनि – ‘तिम्रो सोच र भावनाप्रति हार्दिक आभार व्यक्त गर्दछु छोरी । मैले राष्ट्रलाई माया गर्ने एउटी छोरी जन्माएकोमा खुशी छु ।’ त्यसपछि मैले मेरी छोरीको निम्ति कलेज खोजिदिएका मित्रलाई समेत यो खुशी शेयर गरें ।
छोरीले आफ्नो देशको निम्ति आफ्नै देशमा आफ्नै देशको विषयवस्तु अध्ययन गर्ने रुचि राखेर मलाई उक्त रुचि शेयर गरेको दिन मैले छोरीलाई धन्यवाद त दिएँ । तथापि त्यो दिन छोरीसँग मेरो देशको शिक्षाको बारेमा धेरै कुरा गर्न मन लागेको थियो । किशोरावस्थाको छोरीसँग त्यस्ता कुरा गर्न हिक्मत आएन मेरो । हिक्मत गर्नुपनि त्यत्ति उचित लागेन । देशको बारेमा उनीभित्र उम्रदै गरेको राष्ट्रिय भावनामा आघात पर्न सक्छ भन्ने भयले हिक्मत गरिन । म मभित्रै रन्थनिरहें । बरु छोरीले कोरोनाको कारणले पछि धकेलिएको कक्षा १२ को नतिजा प्रकाशित गर्ने सम्बन्धमा कक्षा ११ को चालिस प्रतिसत अङ्क कक्षा १२ मा जोडिने निर्णय हुँदा छोरीले मसँग गुनासो गर्दै भनेकी थिइन् – ‘तपाईले काम गर्ने राष्ट्रिय परीक्षा बोर्डले के निर्णय गरेको यस्तो वावा ? जुनसुकै विद्यार्थीले पनि कक्षा ११ मा भन्दा कक्षा १२ मा स्वाभाविकरुपले राम्रो प्रगति गरेको हुन्छ । यस्तो निर्णयले विद्यार्थीलाई मर्का पर्छ भन्ने परीक्षा वोर्डले सोच्नु पर्दैन ?’ उनको कुरा सुनेर फेरि पनि म नजवाफ भएँ । मैले यो कुरा सम्बन्धित निकायमा पनि पुरयाएँ । मैले उपयुक्त जवाफ पाइन । बरु ठूलाबडाको अनावश्यक फूर्तिफार्ति मात्रै पाएँ ।
मैले सिंगो सक्रिय जीवन विताउदै गरेको शिक्षा क्षेत्रमा त्यस्ता थुप्रै विसङगतिहरु छन् । सुधारका निम्ति निकै प्रयत्न गरियो । तथापि माथिकाहरुले शिक्षा क्षेत्रमा काम गर्ने हामी जस्ता शिक्षाकर्मीका कुरा सुन्दैनन् । पटक्कै सुन्दैनन् । तथापि छोरीजस्ता किशोरकिशोरीहरुले त शिक्षामा जति विसङ्गतिहरु भित्रिएका छन्, ती सवैमा म जस्ताको समेत प्रत्यक्ष संलग्नता छ भन्ने कुरामा विश्वास गर्दछन् । अघिल्लो साता मात्रै मैले ‘सरकारको काम सेवा कि सास्ती’ भन्ने आलेखको कमेन्ट गर्दा दाङको एकजना साथीले लेख्नु भएको थियो – ‘सरकार भनेको तपाई होइन र ? तपाइले पनि त यस्ता कमीकमजोरी हटाउन र घटाउने काम गर्न सक्नुपथ्र्यो नि ?’ मैले महसुस गरें । वहाँले भनेको कुरा ठीकै हो । म पनि सरकारको नूनपानी खाइरहेको मान्छे हुँ । तथापि मैले भनेर कानूनहरु निर्माण हुदैनन् । सरकारको एउटा पाटो नागरिक पनि हो । तथापि सामान्य किसिमले नागरिकले भनेर पनि यहाँ केही हुनेवाला छैन । शसस्त्र र हिंसात्मक किसिमले सडकमा नउत्रिदासम्म नागरिकका कुरा सरकारले सुनेको हाम्रो देशसँग त्यस्तो गौरवशाली इतिहास पनि छैन ।
सवैभन्दा ठूलो कुरा त सरकारसँग शिक्षा क्षेत्रलाई सुधार गर्ने मनसाय नै देखिएन । शिक्षा क्षेत्रमा सुधार गर्नका लागि दृढ इच्छाशक्ति नै भएन । अव केही बाटो समात्छ कि भनेर आश जाग्न थालेको शिक्षा क्षेत्र गणतन्त्रात्मक लोकतन्त्र पछि झनै ध्वस्त भयो र हुने क्रम जारी छ । मिडियाले कराउदै थियो, मेरो जन्मभूमि सल्यान जिल्लाको कुभिण्डै बन्गाड नगरपालिकाका विभिन्न विद्यालयहरुमा दुई वर्षदेखि राजनीतिक भागवण्डा नमिलेका कारण छ वटा शिक्षक दरबन्दीमा पदपूर्ति हुन सकेको छैन । यो कथा मुलुकभरिकै पालिका र विद्यालयहरुको कथा हो । यसरी राजनीतिक भागवण्डामा परेर नियुक्त हुने शिक्षकलाई विचरा कसरी आउदो होला र पढाउने जाँगर ? त्यसैले त विद्यालयहरु अपेक्षित हिसावले सुध्रन सकेका छैनन् । त्यसैले त त्यस्ता शिक्षकहरुले राजनीतिक पार्टी र राजनीति गर्नेहरुलाई चिन्छन् तर आफूले पढाउनुपर्ने विद्यार्थीहरु चिन्दैनन् । यसरी सिर्जना भएको समस्याको मूल जरो भनेको सरकार हो । संविधान बनेको पाँच वर्ष नाघिसक्यो । तथापि शिक्षा ऐन बन्न सकेको छैन । शिक्षामा यही मौकामा धमिलो पानीमा माछा मार्नेहरुको भीड छ ।
सवैभन्दा ठूलो गम्भीर कुरा त सरकारको डाडुपन्यू हातमा हुनेहरु नै देशप्रति विश्वास गर्दैनन् । किनभने उनीहरुलाई आफूले गरेको कर्मको बारेमा बोध छ कि आफूले देशको लागि गतिलो काम गरिरहेको छैन । त्यसैले उनीहरु देशलाई राजनीति गर्ने थलो र कमाइखाने भाँडो बनाइरहेका छन् । उच्च पदस्थ अधिकारीदेखि राजनीति गर्नेहरु सवैका सन्ततीहरु कोही विदेश गइसकेका छन् भने कोही विदेश जाने तयारीमा छन् । अमेरिका, अष्ट्रेलिया, जर्मनी, क्यानडा जहाँजहाँ जानुपर्ने हो त्यो प्रकारको शिक्षा आर्जन गर्नका लागि नेपालमा त्यस्ता कलेजहरु स्थापना गरी सञ्चालन भइरहेका छन् । कोही त्यस्ता कलेजहरुमा अध्ययन गरेर विदेश जान्छन् भने कोही विद्यालय शिक्षा उत्तीर्ण गरेर उच्च शिक्षा अध्ययनका लागि उतै जान्छन् । उता गएर उतैको परिवेशसँग अनुकूल हुनेगरी शिक्षा आर्जन गर्दछन् । यता आउने त कुरै भएन । बाउआमाले राजनीति गर्दासम्म कहिलेकाही आए हुन्छ । अन्यथा बाउआमाको राजनीति सकियो भने बाउआमा पनि उतै गइहाल्छन् सन्तती खोज्दै । परिवेश यसरी गुज्रिएपछि देश र देशको शिक्षाको अवस्था सुध्रिन्छ कसरी ?
लर्ड बाइरनको एउटा भनाइ छ, ‘जसले आफ्नो राष्ट्रलाई माया गर्दैन उसले अरु कसैलाई पनि माया गर्दैन ।’ मलाई उनको भनाइले मुटुमात्र होइन ह्याकुलासम्म छोएको छ । यदि यो देशको डाडुपन्यू हातमा हुनेहरु कसैले देशको माया गथ्र्यो भने उसले आफ्ना सन्ततीहरुलाई अरुको देशका किन पठाउथ्यो होला ? कमसेकम पठाए पनि अरुको देशको बारेमा अध्ययन गराएर होइन कि आफ्नै देशमा अध्ययन गर्न लगाएर पठाउथ्यो होला । सन्ततीलाई विदेश पठाउनु भन्दा सन्ततीको निम्ति देशलाई नै उपयुक्त थलो बनाउथ्यो होला । अनुसन्धान तहमा गएपछि आफ्नो देशको थप प्रगति गर्नका लागि अरुको देशमा के भइरहेको छ भन्ने कुराको अध्ययन जानु पर्ने हुन सक्छ । त्यो अलग कुरा हो । तथापि त्यो मनसायका निम्ति अहिलेका युवाहरु विदेश गएका होइनन् र विदेश गएर ज्ञान र सिप सिकी स्वदेश फर्केको अवस्था पनि नगण्य छ । कतिपय स्वदेश फर्केकाहरुका निम्ति पनि यो देशका निम्ति के सिकेर आयौ भनेर राज्यले कहिले कसैसँग सोधनी गरेर उपयोगको लागि अवसर दिएको अवस्था पनि छैन । नत्रभने महावीर पुन जस्ताहरुले सरकारप्रति आक्रोस पोख्नु पो किन पथ्र्यो र ?
भनिन्छ, कुनै पनि देशलाई दशौै वर्षसम्म तङिरन नसक्ने गरी ध्वस्त बनाउनु छ भने त्यो देशको शिक्षालाई ध्वस्त बनाइदिए पुग्छ । हाम्रो देशका राजनेताहरुले कुरा जे जति ठूला गरे पनि शिक्षालाई ध्वस्त बनाएको कुरामा कुनै शंका छैन । शिक्षाका मान्छेलाई नै दोश्रो दर्जाका भनेर हेर्ने गरिन्छ । विद्यार्थी र शिक्षकदेखि शिक्षामा काम गर्ने कर्मचारीसम्मलाई पनि गतिलो नजरले हेरिदैन । कसैले हेरे भने चन्द्रशमशेरको नजरले हेर्ने गर्दछन् । कोरोनाको निहुँ पारेर खुवसँग अस्तव्यस्त बनाउने काम भयो शिक्षालाई । यी सवै दृश्यहरु हेरिरहेका अभिभावक र युवाहरुको निम्ति नेपाली भूमि शिक्षा र रोजगारीका निम्ति कामयावी हुन सकिरहेको छैन । त्यसैले पनि दैनिक पन्ध्रसयको हाराहारीमा बाहिरिन्छन युवाहरु । त्यसैले पनि शिक्षा सरकारको सवैभन्दा कम प्राथमिकताको क्षेत्र हो भन्ने स्पष्ट छ । त्यसकारण पनि शिक्षाका सवै अवयवहरु अस्तव्यस्त छन् । पाठ्यक्रम अस्तव्यस्त, शैक्षिक सत्र अस्तव्यस्त । शिक्षा नीति अस्तव्यस्त । शिक्षा आयोगको प्रतिवेदन अस्तव्यस्त । शिक्षा ऐन र शिक्षासम्बन्धित नियमकानूनहरु अस्तव्यस्त । अन्ततः यसको असरले देश अस्तव्यस्त । यतिभएपछि धमिलो पानीमा माछा मार्दै देशमा राज गर्नेहरुलाई कति मालामाल !
देशहरु समुन्नत हुनका लागि र त्यहाँका नागरिक खुशी हुनका लागि त्यहाँका शिक्षा पनि गतिलो हुनुपर्दछ । हाम्रै छिमेकी देश भुटान खुशी नागरिकको सवालमा विश्वमै अग्रपङितमा आउछ । त्यहाँको शिक्षा प्रणाली पनि राम्रो छ । राम्रो त्यतिबेलादेखि हुन थालेको हो जतिबेलादेखि त्यहाँका राजा जिग्मेसिग्मे वाङचुकले आफ्ना सन्ततिलाई सरकारी विद्यालयमा अध्ययन गराउन थाले । यहाँ त नेता र उच्च पदस्थहरुका सन्ततीहरु विदेशतिर छन् भने त्यसैको सिको गर्दै अरु केही हुनेखानेका सन्ततिहरु समेत निजी विद्यालयहरुतिर छन् । यति भएपछि सार्वजनिक शिक्षा नसकिएर के सकिन्छ त ? यी सवै कुरा छोरीसँग मैले ओकेलेर उनीभित्र रहेको देशप्रतिको भक्तिभाव र प्रेममा कमी ल्याउन पनि चाहन्न म । म अझै के मानेमा आशावादी छु भने यो देशका शिक्षाविरोधीहरु सधैं सरकारमा हुने छैनन् र शिक्षाको विकास विना कुनै पनि क्षेत्रको विकास सम्भव छैन भन्ने कुराले कुनै न कुनै दिन यिनीहरुको घैटोमा पनि घाम लाग्नेछ । त्यसकारण छोरी तिम्रो निर्णयलाई म सलाम गर्दछु । शिक्षा वा अन्य विविध बहानामा आफ्नो मातृभूमिलाई छोडेर विदेश जाने लाखौं लाख नेपाली युवाभित्र तिमी परिनौं । मैले त्यसैमा आफूलाई भाग्यशाली ठानेको छु । सवैलाई चेतना भया ।
मिति २०७७ साल फागुन ५ गते बुधवार
लेखक राष्ट्रिय परीक्षा बोर्ड कर्णाली प्रदेश प्रमुख हुनुहुन्छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button